देश

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक :महामन्त्री शर्मा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित *‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’* विषयक अन्तरक्रियात्मक तालिमको उद्घाटन सत्रमा उनले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवनसम्म समाप्त पार्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गरे।

“डिजिटल माध्यमका कारण समाजमा अप्ठ्यारो अवस्था पनि सिर्जना भएको छ। नागरिकलाई सचेत बनाउनु जिम्मेवार पार्टीको कर्तव्य हो। पछिल्लो पुस्तालाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरी सुधार गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ,” उनले भने।

कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र गुटउपगुटबीचको प्रतिस्पर्धामा डिजिटल माध्यम प्रयोग हुँदा पार्टीलाई क्षति पुगेको उदाहरण दिँदै समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा यसको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचार–प्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमको प्रभावकारी प्रयोग अपरिहार्य भएको धारणा राखे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *