देश

साइबर सुरक्षा विधेयक अघि बढाउन सांसदहरूको जोड

काठमाडौँ।सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई शीघ्र अघि बढाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा “सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि छलफल भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभयो।

छलफलमा सहभागी सांसदहरूले साइबर सुरक्षाका लागि यो विधेयक आवश्यक भएको उल्लेख गर्दै, नियमका नाममा अनावश्यक नियन्त्रण नगरी राष्ट्रहितमा व्यवस्थित ढंगले लागू गर्नुपर्ने धारणा राखे। उनीहरूले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगका लागि जनशक्ति व्यवस्थापन, अङ्ग्रेजी शब्दको नेपालीकरण, र संविधानमा सुनिश्चित मौलिक हक—सूचनाको हक तथा गोपनीयताको हक—प्रभावित नहुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

मन्त्री गुरुङले डिजिटल प्लेटफर्मसम्बन्धी अर्को विधेयक राष्ट्रियसभामा रहेको जानकारी दिँदै, संयुक्त राष्ट्रसंघको घोषणापत्र र सर्वोच्च अदालतको निर्देशनअनुसार नेपाली जनताको डेटा नेपालमै सुरक्षित राख्ने उद्देश्यले यो विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार साङ्घाइमा ‘सिक्स जी’ अनुसन्धान भइरहेको अवस्थामा प्रविधिमा अघि बढ्न यो कानुन आवश्यक छ, र भविष्यमा कृत्रिम बौद्धिकतासम्बन्धी छुट्टै कानुन पनि ल्याउनुपर्नेछ।

बैठकमा सांसदहरू उर्मिला माझी, दीपा शर्मा, नारायणी शर्मा, सुनिता बराल, रणेन्द्र बराइली, रणकुमारी बलम्पाकी मगर, हितराज पाण्डे, रमा कोइराला पौडेल, ठाकुरप्रसाद गैह्रे, प्रकाश ज्वाला, डा. अमरेशकुमार सिंह, सपना राजभण्डारी, भगवती चौधरीलगायतले धारणा राखे।

सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक सङ्ख्या नपुगेको भन्दै गणनाको माग गर्नुभयो। संविधानको धारा ९४ अनुसार प्रस्ताव पारित गर्न आवश्यक ६९ सदस्यको सट्टा ६६ मात्र उपस्थित भएकाले सभामुख देवराज घिमिरेले बाँकी कार्यक्रम हटाउने घोषणा गर्नुभयो। प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *