राजनीति

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् ।

शनिबार आयोजित ‘नेपाली कांग्रेसको १६औं महाधिवेशन र आगामी नीति र नेतृत्व’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छौँ ।’ उनले नेपाली कांग्रेस सधै वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले पार्टीको महिमा बढाउने बताए ।

‘नेपाली कांग्रेस सधै वर्तमानमा छ । विगतको मात्रै इतिहास रटेर हुँदैन भन्ने भाष्यमा म सहमत छैन । २००७ सालमा हामी त्यसकै वर्तमानमा थियौँ, ३० वर्ष निरङ्कुश शासनको विरोध गर्दा त्यसबेलाकै वर्तमानमा थियौँ । ०६२/६३ आन्दोलनमा पनि त्यसबेलाकै वर्तमानमा थियौँ र आज पनि आजैको वर्तमानमा छौँ तर पार्टीको फाउन्डेसन बिर्सिनुभयो भने गति पाउनुहुन्न् । तपाईं र अहिले जन्मिएको पार्टी र नेपाली कांग्रेस पार्टीको अन्तर के हो भन्न सक्नुपर्छ,’ उनले भने ।

नेता सिटौलाले एकीकृत केन्द्रित एकात्मक निरङ्कुश सामन्ती व्यवस्था फाल्न सफल भए पनि एकात्मक निरङ्कुश सामन्ती संस्कारको अन्त्य गर्न नसकेको बताए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *