म्याग्दी। धार्मिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र पूर्वाधार र प्रचारको अभावमा ओझेलमा परेको छ।
हिन्दू धर्मग्रन्थहरूमा हम्पाल, कालञ्जर र मृगस्थलीका रूपमा उल्लेखित जलजला क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा वर्णन गरिएको छ। यहीं पाइने जडीबुटीहरू औषधीय रूपमा प्रयोग हुने उल्लेख छ। तर, दुर्गम भौगोलिक अवस्थिति, अव्यवस्थित यातायात र प्रचारको कमीले पर्यटकको आगमन न्यून रहेको छ।
स्थानीय व्यवसायी टीका पुनका अनुसार महायज्ञ तथा शरद र वसन्तयाममा मात्रै भक्तजन आउँछन्, अन्य समय जलजला सुनसान हुने गरेको छ। अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रेको दृश्यावलोकन गर्न सकिने जलजला क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ।
कालीगण्डकी क्षेत्रका अध्येता प्रा.डा. जगन्नाथ रेग्मीका अनुसार जलजलामा प्राचीन मन्दिर, गुफा र ओढार संरक्षणको अभावमा हराउँदै गएका छन्। पर्यटक पूर्वाधारको विकास नहुँदा पौराणिक महत्त्वका बाबजुद यहाँको चिनारी सीमित रहेको उनको भनाइ छ।
हाल जलजला क्षेत्रसम्म कच्ची सडक पुगेको छ। सङ्घीय सरकारले रु तीन करोडको पर्यटन पूर्वाधार योजना ल्याएको र प्रदेश सरकारले पदमार्ग तथा आश्रयस्थल निर्माण गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलालाई धार्मिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो। मुस्ताङ र मुक्तिनाथ जाने तीर्थयात्रीलाई जलजला मार्ग हुँदै लैजाने तयारी भइरहेको उनले बताए।




