देश

ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : विद्यादेवी भण्डारी

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ ।

ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उनीहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिइन् । ‘उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो’, उनले सञ्चारकर्मीलाई भनिन्, ‘अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुने छ ।’

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिइन् । उनीहरूबिच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलो पटक एमाले मुख्यालय च्यासल पुगेकी हुन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए ।

उनले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेका छन् । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो ।

एमालेको शनिवार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्व राष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *