सम-सामयिक

एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवनको शुक्रबार औपचारिक रूपमा उद्घाटन भएपछि सेवा दिन सुरु गरिएको हो ।

वडाध्यक्ष अमृत बुढाका अनुसार उक्त प्रशासकीय भवन तीन तलामा १५ कोठाको छ । निर्माणको जिम्मा न्यू विके विल्र्डस एण्ड सप्लायर्स निर्माण प्रालिले लिएको थियो । निर्माण कम्पनीले निर्धारित समयमा भवन निर्माण गरी हस्तान्तरण गरेको नगरप्रमुख रवि केसीले जानकारी दिए।

उनका अनुसार निर्माण कम्पनीले रु. एक करोड २५ लाख लागतमा वडा कार्यालयको भवन निर्माण गरेको हो । बाँकी घेराबार, अन्य संरचनाका लागि रु. ५० लाख लगानी गरिएको उनले बताए । उनका अनुसार घेराबार र अन्य बाँकी संरचना निर्माण हुन बाँकी छन् ।

उक्त भवनबाट सेवा प्रवाह भएसँगै वडाको कामकाज गर्न सहज हुने वडा कार्यालयले जनाएको छ । विसं २०८० माघ २ गते वडा कार्यालयको भवनको निर्माण सम्झौता भएकामा यही असार १५ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *