काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूमाथि कारबाही गरेको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार वा समर्थन प्राप्त उम्मेदवारलाई पराजित गराउने नियतसहित सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यमबाट दुष्प्रचार गरेको प्रमाणका आधारमा समितिले निर्णय लिएको हो।
अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य तथा पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, र पर्सा क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टी सदस्यताबाट निस्कासन गरेको छ। त्यस्तै, धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निस्कासन गरिएको छ।
त्यसैगरी, धनुषा, कास्की, कैलाली लगायतका जिल्लाका १० जना क्षेत्रीय, नगर, वडा तहका नेताहरूलाई ६ महिनादेखि ३ महिनासम्मका लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको छ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका निर्णयअनुसार सबै कारबाही नेपाली कांग्रेस विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख), (घ) अनुसार गरिएको हो।
पार्टी नेतृत्वले अनुशासनका सवालमा अब गम्भीर र कडारूपमा प्रस्तुत हुने संकेत दिएको छ।





