देश

सूचना प्रविधि सबै क्षेत्रको मेरुदण्ड हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई पृथक क्षेत्रका रूपमा हेर्ने दृष्टिकोणलाई समयसापेक्ष नभएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आईटी (सूचना प्रविधि) लाई शिक्षा, स्वास्थ्य, कृषि लगायत सम्पूर्ण क्षेत्रसँग एकीकृत रूपमा हेर्नु अपरिहार्य भएको स्पष्ट पारे।

थापाले हाल प्रविधि क्षेत्रलाई ‘अलग संसार’का रूपमा बुझ्ने प्रवृत्तिलाई आलोचना गर्दै भने, ूनेपालमा हामी छुट्टाछुट्टै कृषि, स्वास्थ्य, शिक्षा भन्नुका साथै आईटीलाई पनि छुट्टै ढंगले हेर्छौं, जुन सोच अब परिमार्जन गर्नुपर्छ। सूचना प्रविधि त यिनै सबै क्षेत्रमा सुधार ल्याउने माध्यम हो।

उनले समग्र प्रणालीलाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आवश्यक भएको औंल्याउँदै उल्लेख गरे कि शिक्षा र स्वास्थ्य प्रणालीमा डिजिटल पहुँच बढाउन सके मात्र विकासले गति लिन्छ। आईटी छुट्टै उद्योग मात्र होइन, यो कृषि प्रणालीमा स्मार्ट समाधान ल्याउने औजार हो, विद्यालयमा डिजिटल शिक्षाको माध्यम हो र अस्पतालमा सेवा प्रवाहमा पारदर्शिता ल्याउने प्रविधि हो, थापाको भनाइ थियो।

थापाले सरकार र राजनीतिक नेतृत्वसँग प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न आह्वान गरे। उनले भने,
ूहामीले अब प्रविधि नीति छुट्टै बनाउने होइन, सबै क्षेत्रीय नीतिमा प्रविधिलाई आधार बनाउने हो। यही नै समृद्धिको बाटो हो ।

गगन थापाको भनाइले स्पष्ट देखाउँछ — नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा प्रविधिलाई छुट्टै विषय होइन, सुधारको मूल आधारको रूपमा लिनुपर्ने बेला आएको छ। अब नीति, योजना र बजेटमा सूचना प्रविधिको अन्तरसमावेशी भूमिका स्थापित नगरेसम्म समग्र क्षेत्रीय विकास सम्भव छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *