सम-सामयिक

सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौंबाट पक्राउ

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ।

सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले रोकालाई आज काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। उहाँले भन्नुभयो, “रोका ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न थिइन्। आज हाम्रो टोलीले उनलाई पक्राउ गरेको छ। पक्राउसम्बन्धी विस्तृत विवरण हामी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारीमा छौँ।”

उक्त सुन तस्करी काण्डमा सन् २०८० साउन २ गते त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

पक्राउ परेकी अमला रोका यस प्रकरणमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती रहेको खुलेको छ। साथै, काठमाडौँको ठमेलस्थित ‘होटेल भियना’ उनको नाममा दर्ता रहेको समेत अनुसन्धानबाट पत्ता लागेको छ।

६१ किलो सुन प्रकरणको पृष्ठभूमि
राजस्व अनुसन्धान विभागले २०७९ साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि विभागले १९ दिनपछि फाइल सीआईबीलाई बुझाएको थियो।

माओवादी नेतृको पहिचान र विवादास्पद सम्बन्ध
अमला रोका रोल्पाकी माओवादी नेतृ समेत हुन्। उनको पति दावा छिरिङले रोका मार्फत माओवादी नेताहरू, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, र चिनियाँ प्रभावशाली व्यक्तिसँग सम्बन्ध बनाएको अनुसन्धानमा खुलासा भएको छ।

२०७६ माघ १ गते अमला रोका, तीन चिनियाँ नागरिक र दिपेश पुन हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको प्रमाण पनि प्रहरीले फेला पारेको छ।

चिनियाँ नेटवर्क र प्रहरी अपरेसन
२०७६ को पुसमा सीआईबीले काठमाडौं उपत्यकाभरि विशेष अपरेशन सञ्चालन गर्दै १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो। चिनियाँ दूतावासले दिएको विवरणमा अमलाका पति दावा छिरिङको नाम पासपोर्ट नम्बरसहित पठाइएको थियो। तर, राजनीतिक पहुँचका कारण उनी त्यसबेला पक्राउबाट उम्किएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

दावा छिरिङले काभ्रेबाट नेपाली नागरिकता लिएको र माओवादी नेताहरूसँग निकटता राखेको प्रमाण पनि अनुसन्धानमा देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *