काठमाडौं । वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध दायर मुद्दामा उच्च अदालत पाटनले ठोस आधार नदेखिएको भन्दै पक्राउ नगर्न स्पष्ट आदेश दिएको छ। पत्रकारिताका नाममा दमन हुनसक्ने आशंकाबीच अदालतको यो निर्णयले प्रेस स्वतन्त्रताको पक्षमा सकारात्मक सन्देश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले दिएको आदेशमा भनिएको छ, “पाठकले सम्प्रेषित गरेको सामग्रीले कसूर भएको ठहर गर्न सक्ने अवस्था देखिन्न। त्यसैले अन्तिम निर्णय नभएसम्म पक्राउ नगर्नू।”
मुद्दाको प्रारम्भिक आधार कमजोर देखिएपछि अदालतले यसअघि जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै पाठकको गिरफ्तारी रोक्ने निर्णय गरेको हो। अदालतको आदेशमा न्यायिक अनुसन्धान र अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलन स्पष्ट झल्किएको छ।
पत्रकार पाठकको मुद्दाले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि बहस जन्माएको थियो। यस्तो अवस्थामा अदालतको आदेशले सरकार र प्रशासनलाई कानूनको चेतावनी दिने खालको छ। यो आदेश न केवल पाठकको हकमा राहत हो, तर सम्पूर्ण पत्रकार समुदायका लागि पनि कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रता बीचको संवेदनशील सम्बन्ध बुझाउने दृष्टान्त बनेको छ।




