पाटन (ललितपुर)।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति विकास नगरेसम्म मुलुकको समुन्नति सम्भव नहुने धारणा राखेका छन्।
राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित सरकारी तथा गैरसरकारी निकाय/संस्थासँगको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले मन्त्रालयले “आन्तरिक रोजगार दशक” लागू गर्न लागिरहेको जानकारी दिए।
“मुलुकभित्र नै सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्नुपर्छ,” उनले भने, “सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ।”
उनले सरकारी रोजगारी मात्र रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्रबाट सिर्जित रोजगार पनि महत्त्वपूर्ण हुने बताए।
“निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्धि हासिल गर्ने मार्गमा मन्त्रालय लागिरहेको छ,” मन्त्री भण्डारीले भने, “वैदेशिक रोजगारीबाट फर्किएकाको सीप उपयोगका लागि समन्वय आवश्यक छ।”
उनका अनुसार मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्द्धनका लागि “आन्तरिक रोजगार महाशाखा” स्थापना गरी काम गरिरहेको छ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा पुनःनिर्माणमा दक्ष जनशक्ति अभाव देखिएको भन्दै आवश्यकता-आधारित तालिममा जोड दिएको बताए।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले प्रतिष्ठानले निजी क्षेत्रसँग सहकार्यमा तालिम सञ्चालन गर्दै नीति निर्माणमा समेत सुझाव दिइरहेको जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले नेपालमा रोजगारी सृजनाको वातावरण बन्न थालेको बताए।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले दक्ष जनशक्ति निर्माणमा महासंघ सहयोग गर्न तत्पर रहेको बताए।
प्राविधिक तथा व्यवसायिक शिक्षा विज्ञ डा. रामहरि लामिछानेले प्रतिष्ठानसँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने क्षमताको उल्लेख गर्दै, वैदेशिक रोजगारबाट फर्किएकालाई तालिम दिन जोड दिए।
कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदाताको आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गरी आन्तरिक रोजगार प्रवर्द्धन गर्न तालिम कार्यक्रम सञ्चालन गरिएको बताए।




