पाटन (ललितपुर)। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश, समाज र पार्टीको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्नुपर्ने बताएका छन्।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित स्वर्गीय हेमराज अधिकारीको १३औँ पुण्यतिथिको श्रद्धाञ्जली सभामा बोल्दै उपसभापति गुरुङले यस्ता योगदानकर्ताहरूलाई न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्न राज्य, समाज र पार्टी प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
उहाँले स्वर्गीय अधिकारीजस्ता प्रजातान्त्रिक योद्धाको मेहनत, त्याग र बलिदानकै कारण नेपाली कांग्रेस आजको सुदृढ अवस्थामा पुगेको उल्लेख गर्दै, यस्ता व्यक्तित्वहरूको योगदानलाई सदैव स्मरण गर्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले अधिकारीलाई राजनीतिक प्रेरणाको स्रोतको रूपमा स्मरण गर्दै उहाँको पृष्ठभूमिले आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको बताए।
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अधिकारीले कठोर राजनीतिक यात्रा गर्दै जनताको अधिकार र विकासलाई केन्द्रमा राखी लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेको बताइन्।
केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले अधिकारीले बीपी कोइराला, किसुनजी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाजस्ता नेतासँग सहकार्य गर्दै पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान दिएको बताए।
कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायत वक्ताहरूले अधिकारीको योगदान राष्ट्रका लागि प्रेरणादायी रहेको बताए।
प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले यस्ता सेनानीहरूको सम्मानका लागि पार्टीले योजना बनाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। डा. हेमाङ अधिकारीले अधिकारीको सामाजिक जागरणमा पुर्याएको योगदान स्मरणीय रहेको बताए।
स्वर्गीय हेमराज अधिकारी नेपाली कांग्रेसको सातौँ महाधिवेशन (वि.सं. २०१७) पश्चात् जननेता बीपी कोइरालाको सभापतित्वमा केन्द्रीय कार्यसमितिका सदस्य थिए। उहाँले लोकतान्त्रिक आन्दोलनका क्रममा जेल जीवन पनि व्यतीत गरेका थिए।
उहाँ नेपाल प्रजातन्त्र सेनानी सङ्घका पूर्व महासचिवसमेत थिए। वि.सं. १९८८ मा भोजपुरको दिङ्लामा जन्मिएका अधिकारी विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुका साथै लेखनमा समेत रुचि राख्नुहुन्थ्यो। उहाँको ‘आजको नेपाल’ नामक पुस्तक प्रकाशित भइसकेको छ।




