देश

सेबोन अध्यक्षलाई अर्थमन्त्रीको स्पष्ट सन्देश : गल्ती नगर्नु, बिचौलियाबाट टाढा रहनु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र उठेका विवाद र आरोपबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कडा सन्देश दिएका छन्। आइतबार सेबोनको ३३औं वार्षिकोत्सवको मंचबाटै अर्थमन्त्रीले स्पष्ट भने – “गल्ती नगर्नुहोस्, बिचौलियाबाट टाढा रहनुहोस्।”

सेबोन अध्यक्षमाथि जलविद्युत कम्पनीको आईपीओ स्वीकृत प्रक्रियामा अनियमितता र पैसा मागेको जस्ता गम्भीर आरोप सार्वजनिक भइरहेका बेला अर्थमन्त्रीको सार्वजनिक टिप्पणीलाई चेतावनीको रूपमा हेरिएको छ। उनले इन्साइडर ट्रेडिङ रोक्न, नियामक क्षमता बलियो बनाउन र पूँजीबजारमा पारदर्शिता कायम गर्न विशेष निर्देशन दिए।

“बोर्डमा हुने अवाञ्छित गतिविधि रोक्नुस्, प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्नुस्,” मन्त्री पौडेलको आग्रह मात्र थिएन, गम्भीर जिम्मेवारीसहितको चुनौती पनि थियो। उनले पूँजीबजारमा विश्वासको वातावरण सिर्जना गर्न नीतिगत पारदर्शिता र सशक्त नियमन अपरिहार्य भएको बताए।

अर्थमन्त्रीले सेबोनलाई पूँजीबजारमा नविन वित्तीय उपकरण ल्याउन, साना लगानीकर्ताको हित सुनिश्चित गर्न, र बजारलाई दीर्घकालीन र पारदर्शी बनाउन जोड दिए। “राम्रोलाई प्रोत्साहन, गल्ती गर्नेलाई कारबाही” भन्ने स्पष्ट सन्देश उनका शब्दहरूमा झल्किन्थ्यो।

धितोपत्र बोर्डको नेतृत्वसँग सरकारको विश्वास कमजोर हुँदै गएको संकेत अर्थमन्त्रीको भनाइमा देखिन्छ। बजारको पारदर्शिता र सशक्त नियमन कायम राख्न सकिएन भने, लगानीकर्ताको विश्वास गुम्ने र बजारले स्थायित्व पाउने सम्भावना कम हुने मन्त्री पौडेलको संकेत हो।

सेबोनले अब कार्यकुशलता देखाएर मात्र आफ्नो विश्वसनीयता जोगाउन सक्छ। बिचौलियाको प्रभाव, इन्साइडर ट्रेडिङ, र अपारदर्शिता यदि तुरुन्त थामिएन भने, पूँजीबजारलाई सुधार्ने सरकारको योजना आफैं संकटमा पर्नेछ। अब सेबोनको नेतृत्व ‘हात बाँधेर बस्न’ मिल्ने अवस्था छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *