देश

राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक बजेट कार्यान्वयनमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै सांसदहरूले विगतमा बजेट उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वनमा जटिलता देखिएको उल्लेख गर्दे आगामी वर्षको बजेट कार्यान्वयनमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद किरण बावु श्रेष्ठले बजेट उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयनमा कमजोरी, पूँजीगत खर्चको न्यून उपयोग र भ्रष्टाचारजस्ता समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

 

उनले भने, ‘सरकारका सबै बजेट भाषण र योजना राम्रा र कर्णप्रिय नै हुन्छन्, तर मुख्य कुरा कार्यान्वयन हो, यद्यपि अहिलेको बजेट धेरै महत्वाकाङ्क्षी छैन, यसले नेपालको समसामयिक आर्थिक चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोपाल भट्टराईले बजेटले स्नातकोत्तर अध्ययन गर्दे गरेका विद्यार्थीलाई स्वंयमसेवक शिक्षकको भूमिका परिचालन गर्ने विषय आफैँमा सकारात्मक भएको बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रममा दलितलाई समेटिएन भन्ने कुरा आएको थियो, तर अहिले बजेटले समेटेको छ, दलित भित्रपनि अति पिछडिएका मुसहर, डोम र चमार जातिका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रोत्साहन गर्न दुई अबै ४४ करोड बजेटको व्यवस्था भएको छ, यो राम्रो कुरा हो ।’ बजेटमा विदेशी विद्याथीलाई आकर्षण गर्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै सांसद भट्टराईले उद्योग व्यापारतर्फ प्रोत्साहन गर्ने उद्देश्यतर्फ बजेट केन्द्रित भएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सोह्रौँ पञ्चवर्षीय योजना र गत वर्षको बजेट कार्यान्वयनलाई वेवास्ता गरिएको टिप्पणी गर्दै तीन खम्बे अर्थनीति सहकारी, सरकारी र नीजिलाई समान ढङ्गबाट लैजानुपर्नेमा निजीलाई मात्रै प्रोत्साहन गरिएको बताए ।

उनले भने, ‘बजेटले सरकारी र सहकारीलाई वेवास्ता गरेको छ, यसमा निजी क्षेत्र उत्साही छ, तर किसान, मजदूर, दलित र उपेक्षित वर्ग समुदाय निरुत्साहित देखिन्छ ।’ सरकारले बजेटमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिलाई ओझेलमा पार्ने काम गरेको उनको भनाइ छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *