काठमाडौँ । राजवादीहरुले जारी आन्दोलनको स्वरूप फेर्ने तयारी गरेका छन् ।
संयुक्त जनआन्दोलन समितिले दोस्रो चरणको आन्दोलन तय गर्न आज ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरुको बैठक बोलाएको छ । यो बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बोलाइएको छ ।
राजावादीहरुले गत विहिबारदेखि शुरु गरेको आन्दोलन प्रभावकारी हुन नसकेको देखिएपछि यसको समीक्षा गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिएको छ ।
काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाउने र त्यो बाहेकका क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि राजावादीको प्रदर्सन फितलो भएको बताइएको छ । राजावादीहरुले मंगलबार सिफल चौरमा प्रदर्शन गरेका थिए ।
आइतबार नक्सालको नारायणचौरमा भएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरु पक्राउ परेपछि संयुक्त जनआन्दोलन समिति र राप्रपाबीच असमझदारी समेत देखिएको थियो । आन्दोलन समितिले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुले बन्दको समर्थन नगर्ने स्पष्ट गर्दै सामाजिक सञ्जालमार्फत आफुहरुसँग सल्लाह नगरी समितिले उपत्यका बन्द गरेको संकेत गरेका थिए । पक्राउ परेका नेताहरु आइतबार राति नै छुटेपछि समितिले उपत्यका बन्द फिर्ता लिएको थियो ।




