काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्नेसम्म पनि ज्ञात नभएको अवस्थामा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन् ।
उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारका मुख्यसचिवमाथि अनुसन्धान र निलम्वन गर्दा दाहालले राजीनामा दिनुभएको थियो भन्दै प्रश्न गरे ।
बोलाइएका कर्मचारीलाई न थुनामा राखेको न कुनै मुद्दा अभियोजन गरेको न त बयान लिएको भन्दै यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु सरकारलाई असफल पार्ने षडयन्त्र भएको बताए ।
उनले अख्तियारले अनुसन्धानको प्रक्रियामा कसैलाई सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा र जवाफ दिने हो भने हरेक दिन जवाफमात्र दिइरहनुपर्ने अवस्था रहने स्पष्ट पारे ।




