काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको आगामी बैठकमा गृहमन्त्री रमेश लेखकसँग प्रत्यक्ष रूपमा प्रश्न राख्ने तयारी गरेको छ। भिजिट भिसा सम्बन्धी पछिल्लो विवादलाई लिएर गम्भीर प्रश्नहरू सोधिने रास्वपा सांसद मनिष झाले जानकारी दिएका छन्।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा गृहमन्त्रीप्रति संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल गरिएको र आवश्यक रणनीति तय भइरहेको सांसद झाले बताए। “गृहमन्त्रीबारे हाम्रो रणनीति के हुने भन्नेमा विस्तृत छलफल गर्यौं। नेताहरू योजनाबद्ध ढंगले तयारीमा लागेका छन्,” उनले भने।
रास्वपाले गृहमन्त्रीलाई जवाफ दिनुअघि आफूहरूले प्रश्न राख्न पाउनुपर्ने स्पष्ट अडान लिएको छ। “हामीले सोध्दै नसोधेको जवाफ ल्याएर गृहमन्त्रीले संसदमा प्रस्तुत हुने हो भने त्यो स्वीकार्य हुँदैन,” सांसद झाले स्पष्ट गरे, “पहिले प्रश्न सोध्न पाउने हाम्रो अधिकार हो।”
रास्वपाले गृहमन्त्री लेखकले अघिल्लो वर्ष संसदमा दिएको अभिव्यक्तिको पनि स्मरण गराउने जनाएको छ। “नेता माथि प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भन्ने अभिव्यक्ति स्वयं लेखकमन्त्रीले दिएका थिए,” झाले स्मरण गराउँदै भने, “त्यो कुरा भोलि हामी संसदमा सम्झाउनेछौं।”
रास्वपाले कांग्रेस नेतृत्वको आलोचना गर्दै अघिल्लो वर्ष आफ्ना सभापति रवि लामिछानेलाई २२ बैठकसम्म बोल्न नदिएको प्रसंग पनि संसदमा उठाउने तयारीमा छ। “हामीले त्यो इतिहास पनि भोलि संसदमा स्मरण गराउनेछौं,” भने सांसद झाले। रास्वपाले यसअघि नै गृहमन्त्री लेखकको राजीनामाको माग सार्वजनिक रूपमा गरिसकेको छ। संसदमा सो मागलाई थप सशक्त ढंगले प्रस्तुत गर्ने संकेत आजको बैठकले दिएको छ।
रास्वपाले भोलिको संसद बैठकलाई आफ्नो सशक्त उपस्थिति देखाउने अवसरका रूपमा लिएको देखिन्छ। सूचना, प्रमाण र अघिल्लो वर्षका प्रसंगसँगै प्रश्नको अधिकार सुनिश्चित गर्दै गृहमन्त्री लेखकलाई जवाफदेही बनाउने योजनामा पार्टी अघि बढेको छ।




