बेनी। अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीमा हीरक महोत्सव आयोजना हुने भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गतेसम्म ‘अन्नपूर्ण हीरक महोत्सव’ मनाइनेछ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार आधार शिविरबाट सुरु हुने म्याराथन प्रतियोगिताको उद्घाटनसँगै मूल समारोह आयोजना हुनेछ। आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिनुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन समेत गरिनेछ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पा गरी चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो। पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनका अनुसार गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ। हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक हर्जोगका छोरा माथिएस हर्जोगसहित फ्रान्सेली आरोही, विभिन्न देशका राजदूतलगायतले सहभागिता जनाउने उपाध्यक्ष पुनले जानकारी दिइन्।
आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण यसलाई जेठो हिमाल पनि भनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका हर्जोग र लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।
हीरक महोत्सवका मुख्य आकर्षणहरू
- ३० किलोमिटर दूरीको म्याराथन दौड प्रतियोगिता हुनेछ। आधार शिविरबाट नारच्याङ गाउँसम्मको म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउनेछन्। प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ।
- आधार शिविरमा शिलाखेलमा आरोहीहरूको अभिलेख राख्ने तयारी गरिएको छ।
- नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुतिसँगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही, हिमालको प्रचारप्रसारमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रम समावेश गरिएको छ।
- प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट ग्रहण गरी नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिनेछ।
- हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गरिने कार्यक्रम पनि तय भएको छ।
गुमनाम पहिचान स्थापित गराइने
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र मुख्य आधार शिविर म्याग्दीको अन्नपूर्ण–४ नारच्याङको भूगोलमा परे पनि म्याग्दीले अहिलेसम्म अन्नपूर्ण प्रथमको पहिचान र आरोहण रोयल्टीमा सङ्घर्ष गरिरहनुपरेको गाउँपालिकाका अध्यक्ष पुनले उल्लेख गरे।
उनले अन्नपूर्ण आरोहणका लागि प्रयोग हुने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने भए पनि यो क्षेत्र ओझेलमा परेकाले पालिकाले अभियानका रूपमा पूर्वाधार निर्माण गरिरहेको बताए। यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि हीरक महोत्सव आयोजना गरिएको उनको भनाइ छ। नेपालमा हिमाल आरोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सवले रचनात्मक भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
अनुपम पर्यटकीय सौन्दर्य र पहुँच
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग अनुपम पर्यटकीय सौन्दर्यले भरिपूर्ण छ। आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल र फुतफुते झरना पर्यटकहरूको आकर्षण बन्ने गरेका छन्। प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन्।
हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरिएको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो। पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, टिया पसल (टिसप), होटललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले पदमार्गको पहिचान स्थापित भएको छ।
दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडक तथा यातायातको पहुँच विस्तार भएको छ भने हुमखोलाबाट १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए।
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज पदमार्ग बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न अभियान सार्थक बन्दै गएको गाउँपालिका कार्यालयले जनाएको छ।




