काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताएका छन्।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विमानस्थल निर्माणमा सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको बताए। उनले महँगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने बताए।
उनले निर्माणको जिम्मा देशसँग नभई छिमेकी देशको ठेकेदार कम्पनीसँग सम्झौता भएकाले कोही रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गरे।
उनले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता, आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताए। प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने उनले बताए।




