रुकुमपूर्व। बैतडीको पाटनबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान वर्षाका बीच लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ।
मध्यपहाडी क्षेत्रमा हाल वर्षा भइरहेको अवस्थामा अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व प्रवेश गरेको हो। अभियानको क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
अभियानको अन्तिम गन्तव्य सोलु (सोलुखुम्बु) मा पुगेर अभियानको समापन गरिनेछ।नेकपा (माओवादी केन्द्र)ले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग तथा वर्गीय आधारमा पार्टीको सम्बन्ध सुदृढ गर्ने राजनीतिक जागरणको अभियानको रूपमा लिएको छ।




