देश

राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

काठमाडौं । सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गरेकी छिन् । करिब ३८ वर्ष अघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेकामा उनले गुनासो गरिन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद झाले आवश्यक साधन र स्रोतको प्रबन्ध गरेर सो औद्योगिक क्षेत्र सञ्चालन गर्न तथा आर्थिक विकासको मार्गमा स्थानीयवासीलाई केन्द्रित गर्न सरकारसँग माग गरे ।सांसद अब्दुल खानले झन्डै दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलनरत पिछडा वर्गलाई वार्तामा बोलाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले चामल नभई धान आयात गर्नुपर्ने, इँटा उद्योगलाई कानुनी दायरामा ल्याउन तथा बिमाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामप्रकाश चौधरीले तराईका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरी हुँदा किसान मर्कामा परेको विषय संसदमा उठाए । सांसद रञ्जिता श्रेष्ठले कैलालीमा बस्दै आएका थारू र दलित समुदायका कतिपय परिवारसँग एक टुक्रा पनि जमिन नहुनु दुःखद भएको बताए । उनले ती समुदायलाई तत्काल लालपुर्जा र भूमि उपलब्ध गराउन सरकारसँग माग गरे ।

सांसद प्रेम सुवालले बुद्ध दर्शन मानव जातिको हित प्रवद्र्धन गर्ने सोच र मान्यता भएको उल्लेख गर्दै समाजलाई थप मार्गदर्शन गर्न यसको प्रचारप्रसार आवश्यक भएको बताए । सांसद चित्रबहादुर केसीले बाग्लुङमा निर्माणाधीन पुष्पलाल लोकमार्गमा भइरहेको ढिलाइप्रति आपत्ति प्रकट गर्दै निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरे ।

सांसद प्रभु साहले मेची महाकालीका जनताले हुलाकी राजमार्गमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद सरस्वती बजिमयले मुलुकभित्र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार भइरहेको बेला नीतिगत अस्थिरताका कारण समस्या पैदा भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरे । उनले सो क्षेत्रमा कर छुट दिई लगानी विस्तार हुने वातावरण बनाउन माग गरे ।

सांसद नारायणप्रसाद आचार्यले क्षणिक लाभका लागि तथ्य र अवस्था बिर्सेर केवल भाइरल हुने उद्देश्य राखेर राजनीतिलाई विकृत बनाउन नहुने बताए । उनले देश र जनतालाई आशावादी बनाउने सोचका साथ राजनीतिक गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राखे । कालीगण्डकी करिडोर, नागढुङ्गा नौबिसे सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग जस्ता विकास निर्माणका बारेमा संसद्मा छलफल गर्न सांसद आचार्यले माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *