देश

सांसदद्वारा बाँकेको जयन्दु बालसुधार गृहमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ। सांसदहरूले बाँकेको जयन्दु बालसुधार गृहमा गत शुक्रबार राति भएको झडपमा ४९ जना घाइते भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले सरकारले उक्त घटनामा विशेष ध्यान दिन जरुरी रहेको बताए। “बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना बालबालिका घाइते भएका छन्, त्यहाँ आगलागी पनि भएको छ, विगतमा संसद्को महिला तथा सामाजिक समितिले सो केन्द्रको अनुगमन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो, त्यसमा धेरै विषय उठान गरिएको थियो,” उनले भने। केन्द्रमा स्वास्थ्यको मापदण्ड पूरा नगरेको र लागूपदार्थको प्रयोग हुने गरेको समेत उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद सूर्यप्रसाद ढकालले नेपालमा कारागारको अवस्था र क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताए। उनले बालसुधार गृहमा १८ वर्षभन्दा माथिकालाई राख्न नहुनेमा जोड दिए।

सांसद दीपा शर्माले १० देखि ३० वर्षसम्मकालाई एकै ठाउँमा राख्दा बालसुधार गृहमा घटना घटेको बताइन्। उनले १८ वर्ष माथिकालाई सुधारगृहबाट कारागारमा पठाउन माग गरिन्।

सांसद शान्ति श्रेष्ठले सुधारगृहमा बालबालिकामात्र राख्नुपर्ने उल्लेख गर्दै १८ वर्षभन्दा बढी उमेरकालाई राख्न नहुने बताइन्। उनले सुधारगृहमा रहेका बालबालिका लागू औषध लिन बाहिर गएको खबर पनि सार्वजनिक भएको उल्लेख गरिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *