जलश्रोत/उर्जा

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु

सङ्खुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच मार्ग निर्माण सुरु भएको छ ।

पहुँच मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँच मार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

भोटखोला गाउँपालिका-२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु. १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी रु. एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु. १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।

पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँच मार्ग निर्माण गर्न रु. सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *