सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएका अध्यादेशहरू पारित नहुने दाबी गरेका छन् । आज (मंगलबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
‘सरकारले अहिले जसरी सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई अस्वीकार गरेका छौं । पारित हुन सक्ने स्थिति पनि छैन ।’ राष्ट्रिय सभाले दुई तिहाइको दम्भलाई पनि धक्का दिएको दाहालले दाबी गरे ।
‘माओवादीले यो अध्यादेशलाई पास हुन दिन्न । जसपाको निर्णयमा त्यसको भविष्यमा भर पर्छ,’ दाहालले भने । उनले सरकार सरकार अपारदर्शी ढङ्गले अघि बढेको आरोप लगाउँदै भ्रष्टाचारीलाई बचाउनका लागि बनेकाले त्यो कुरा सामान्य रहेको बताए । उनले भने, ‘यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौं ।’




