राजनीति

जनयुद्ध हिंसा नै हो, प्रचण्डले माओवादीको गुट बनाए : रामबहादुर थापा

कैलाली । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादीले सुरू गरेको जनयुद्धलाई ‘हिंसा’ रहेको टिप्पणी गरेका छन् ।

पत्रकार महासंघ अछामले आयोजित पत्रकार सम्मेलनमा उनले जनयुद्धलाई हिंसा भनेर उक्त टिप्पणी गरेका हुन्। तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल युद्धको आर्किटेक्ट मानिन्छन्। सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनी एमालेमा सामेल भएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भनेर चित्रण गर्दा पत्रकारले ‘तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न?’ भन्ने प्रश्न गरे। यसमा उपाध्यक्ष बादलले जवाफ दिँदै भने, “जनयुद्ध भनेको युद्ध हो। युद्ध भनेको हिंसा हो। हिंसामा मर्ने र मार्ने हुन्छ। यो कुरा माओवादीले पनि मान्छ। हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो। प्रत्येक हिंसा युद्ध होइन। युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो।”

उनले यो पनि थपे कि, नेकपाको गठनको समयमा पनि यस विषयमा गहन छलफल भएको थियो। १० वर्षको जनयुद्धले, वा सशस्त्र संघर्षले, नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले एमालेको १०औं महाधिवेशनले यो पूर्ण रूपमा निषेध नगरेको बताए।

बादलले माओवादीले युद्ध शुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको पनि उल्लेख गरे। उनले जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *