
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा संसदले कानुन निर्माण गर्न नसकेको बताएका छन् ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहेका प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरूले कानुन निर्माणको विषयलाई गम्भीरताका साथ लिए संसदले कानुन निर्माण ढिलाइ नगर्ने उनको विश्वास छ ।
उनले सांसदहरू कै कारण कानुन निर्माण सुस्त भएको बताए । उनले संसद राजनीतिक दलहरूका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरू यसमा गम्भीर हुन जरुरी रहेको बताए ।
प्रमुख सचेतक परियारले भने ‘संसदले कानुन बनाउन सकेन भन्ने जुन कुरा छ । कानुन निर्माण गर्न कसको कारणले सकेन भन्ने कुरा महत्वपूर्ण हो । संसद निरपेक्ष छैन । संसद आफैँमा केही पनि होइन । संसदमा राजनीतिक पार्टीहरू छन् । राजनीतिक पार्टीहरूले जुन दिन कानुन निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसदले कानुन बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो । हामी र हाम्रै कारणले कानुन निर्माण भइरहेको छैन संसदमा ।
विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन ? संघीय निजामती विधेयक किन बन्न सकेको छैन । यो सबै राजनीतिक पार्टीका कारणले कानुन निर्माण हुन सकेको छैन । त्यो खण्डित छ भनेपनि राजनीति पार्टीकै कारणले खण्डित छ । त्यहाँ विमति छ भने पनि राजनीतिक पार्टीकै कारणले विमति छ । यी कुराहरूमा राजनीतिक पार्टीहरूले मिलायो भने संसदबाट कानुन निर्माणमा ढिलाइ हुन्छ भन्ने मलाई लाग्दैन ।’
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको उनको भनाइ छ ।