राजनीति

प्रतिपक्ष दल नेकपा माओवादी सांसदद्धारा लेखा समिति सभापतिको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बसेको बैठकमा सदस्य दाहालले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा श्रीमती र भ्रष्टाचारमा पीए जोडिए पनि दाहाल समिति सभापतिमा बसेको उनको आरोप रहेको छ । “सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,” उनले भने, “नैतिक प्रश्न जोडिएपछि मार्गप्रशस्त गर्दिनुस् ।”

लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिने अभ्यास भएको उनले बताए । समिति सरकारको लाचार छायाजस्तो भएको टिप्पणी गरे । उजुरीमाथि छलफल नभएको उनले उल्लेख गरे । उनले भने, “९५ वटा उजुरी छन्, ती उजुरी तत्काल छलफल भएन । डम्पिङ गरेर राखियो ।” लेखा समितिले दायित्व वहन गर्न नसकेको बेरुजु फर्छ्योटमा उपसमितिलाई कानुनी अड्चन भएको उनले बताएका छन् । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले भ्रष्टाचारसँग जोडिएका उजुरीलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *