राजनीति

सीआईबीले पुनः लियो धनराज गुरुङसँग पाँच घण्टा लामो बयान

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रो पटक बयान लिएको छ । मंगलबार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सीआईबीमा गुरुङले करिब ५ घण्टा बयान दिएको स्रोतले जनाएको छ । यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध उजुरी परेको थियो।

धनराजकी पूर्वपत्नी ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ । प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’

धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *