चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबार देखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ ।
सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ.विजय दरइका अनुसार बिहान ११ बजे देखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसे बाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारी साधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवन तर्फ बाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिन बाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखु तर्फ बाट मुग्लिन छिर्ने भारी सवारी साधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनने जानकारी दिए ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन भने मिलाएर छाडीने उनले बताए ।




