काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि केहि ढिला गरी मतदान सुरू भएको छ।सर्केगाडको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको हो । हिमाली जिल्ला भएका कारण चिसो बढेसँगै मतदान प्रक्रिया ढिलो गरि सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
सर्केगार्ड गाउँपालिका उपनिर्वाचनका लागि १३ मतदान केन्द्रबाट आइतबार बिहान साढे ७ र ८ बजेबाट मतदान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । उपाध्यक्षका लागि १२ मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ । यस गाउँपालिकामा ६ हजार ८१० जना मतदाता छन् । उपाध्यक्ष पदका लागि ५ जना राजनीति दलका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपाली काँग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्र , एकीकत समाजवादी (एस) र नेकपा विप्लवको तर्फबाट साझा उम्मेदवारी देवकी तिमिल्सिना र राष्ट्रिय प्रजातन्त्र पाटीबाट संगिता शाही, राष्ट्रिय स्वतन्त्र पाटीबाट बाचा बुढा उम्मेदवार छन् । त्यस पालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्दसिंह कार्कीको गत भदौ १० सुर्खेतबाट नेपालगन्ज जाने क्रममा निधन भएपछि उपनिर्वाचन गरिएको हो ।