मुख्य समाचार

१०० दिनमै उल्लेख्य काम हुँदैन, अब देखिने काम गर्छु : प्रकाशमान

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएका छन् । आज (आइतबार) मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए ।

उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे । उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए। उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे ।

उनले भने, ‘अहिले केही भएको छैन, के गरे यिनीहरुले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ ।

यो शहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरु त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्नेकुरामा काम गरिरहेका छौँ । शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौं । जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौं ।’ उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएको प्रति असन्तुष्टि जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *