काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो । महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा महाधिवेशन गराउन कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रिय निर्देशन समिति गठन गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल ,र केन्द्रीय सदस्य रुक्मिणी कोइराला रहेका छन् । यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना र सदस्यहरुमा केन्द्रीय सदस्य सरिता प्रसाई र केन्द्रीय सदस्य जीतजंग बस्नेत रहेका छन् । यस्तै नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोर सिंह राठौर र सदस्यहरु केन्द्रीय सदस्य राजीव ढुंगाना र केन्द्रीय सदस्य प्रतिमा गौतम रहेका छन् ।
सभापति देउवाले भातृ संस्थाको महाधिवेशन समयमा नै गर्न केन्द्रिय निर्देशन समिति गठन गरेपनि समयमा महाधिवेशन सफल हुन्छ या हुँदैन् ,एकिन भएको छैन् । महाधिवेशनका लागि भातृसंगठनमा उम्मेदवारी चयन गर्ने विषयमा विवाद सिर्जना हुने होकी भन्ने विषयमा समेत आसंका पैदा भएको छ । महाधिवेशनको प्रतिनिधिहरुका उम्मेदवारहरुको संख्या धेरै हुन्छन् भन्ने भातृ संगठनका प्रतिनिधिहरुको भनाइ छ । कांग्रेस सभापति देउवाले समयमा नै महाधिवेशन सकेर नेतृत्ववान बन्न सबै भातृसंस्थाहरुलाई आग्रह गरिसकेका छन् ।





