काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्
।
उनले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए ।
उनले आफूले कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए । उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए ।
‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला । चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली काँग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठिकै हो भन्ने लाग्यो,’महामन्त्री थापाले भने ।
उनले नेपालको राजनीतिक दल, संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्नसक्ने वातावरण नेपालले बनाउनुपर्ने लेखकले पुस्तकमा उल्लेख गरेको बताए ।




