घरेलु हिंसालाई आतङ्कवाद जत्तिकै महत्वका साथ लिन एक अस्ट्रेलियाली अधिकारीले आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियाको घरेलु, परिवार र यौन हिंसा आयुक्त माइकेला क्रोनिनले बुधबार महिला र बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजना २०२२÷०२३ को प्रगतिको पहिलो वार्षिक रिपोर्ट जारी गर्नुभएको छ ।
राष्ट्रिय प्रेस क्लबलाई दिएको सम्बोधनमा क्रोनिनले घरेलु हिंसाका अपराधहरू रोक्न आतङ्कवादसँग लड्न प्रयोग गरिने सबै उपकरणहरू परिचालन गर्न आह्वान गर्नुभयो ।
उहाँले समुदायले आतङ्कवादी धम्की दिँदा घरेलु, पारिवारिक र यौन हिंसाको खतराहरूलाई गम्भीरताका साथ लिई तिनीहरूमाथि तुरुन्तै कारबाही गर्नुपर्ने बताउनुभयो ।
क्रोनिनले ३०० भन्दा बढी व्यक्ति र संस्थाहरूसँगको बैठकहरूले लैङ्गिक–आधारित हिंसालाई सम्बोधन गर्न प्रगति नभएकोमा धेरै समुदायहरूबाट निराशा व्यक्त गरिएको छ । अस्ट्रेलियाली इन्स्टिच्युट अफ क्रिमिनोलोजीले जुलाईमा प्रकाशित गरेको रिपोर्टअनुसार सन् १९८९÷०९० देखि २०२२÷०२३ सम्म अस्ट्रेलियामा सबै हत्याको एक चौथाइ घटना नजिकको साथीको हत्याले ओगटेको छ ।
उच्च ओहोदाको हत्याका घटनाको श्रङ्खलापछि लैङ्गिक हिंसा रोक्न अझ ठूलो कारबाहीको माग गर्दै दशौँ हजार अस्ट्रेलियालीहरू अप्रिल र मे महिनामा देशभरि विरोध प्रदर्शनमा सामेल भएका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्यानबेरामा प्रदर्शनकारीहरूसँग समन्वय गरी यस मुद्दालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गर्नुभएको थियो ।
बुधबार संसदमा प्रगति प्रतिवेदन पेस गर्दै पारिवारिक हिंसा रोकथामका लागि सहायक मन्त्री जस्टिन इलिएटले सङ्कटको तत्काल समाधान सम्भव नभएको बताउनुभयो ।
सरकारले पछिल्लो बजेटमा महिला सुरक्षा कोषका लागि तीन अर्ब ४० करोड अष्ट्रेलियन डलर विनियोजन गर्ने प्रतिबद्धता गरेको छ ।




