विश्व

सीमा क्षेत्रमा जान पहुँच दिन राष्ट्रसङ्घद्वारा रूससँग आग्रह

जेनेभा। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले बिहीबार मस्कोलाई युक्रेनी सेनाको सीमापार आक्रमणबाट प्रभावित रूसी सीमा क्षेत्रको भ्रमण गर्न अनुमति दिन आग्रह गरेको जनाएको छ ।

“म पुष्टि गर्न सक्छु कि संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले रूसी अधिकारीहरूलाई बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रसहित आक्रमणबाट प्रभावित रूसी सङ्घका क्षेत्रहरूमा हाम्रो मानव अधिकार निगरानी र मूल्याङ्कनका लागि पहुँचको सुविधा प्रदान गर्न अनुरोध गरेको छ,” संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयका प्रवक्ता लिज थ्रोसेलको एएफपीलाई प्राप्त इमेलमा भनिएको छ ।

पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्ति अनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्यन हतियार नष्ट गर्नु रहेको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *