मुख्य समाचार

मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आइतबार नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए ।

‘अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रीपरिषद्का मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । उहाँहरुले गरेको कर्मले बोल्नुपर्छ,’उनले भने,‘नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ । नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ । सरकारले ती विषयलाई सम्मान गर्नुपर्छ । कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए । उनले इतिहासमा बोली नभई कर्म बिक्ने बताए ।

उनले नेपाली काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भए पनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे ।

‘तपाईँहरूको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस् । अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरू पनि यहाँ हुनुहुन्छ । इतिहासमा बोली होइन कर्म बिक्छ,’उनले भने,‘सुशील कोईरालाले राम्रोसँग बोल्न सक्नुभएन । जिब्रोको क्यान्सरको अप्रेसनको कारण बोली राम्रो बुझिएन । तर सुशील कोइरालाको बोली राम्रो नबुझिएर के भयो । सुशील कोइरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि ।’

महामन्त्री शर्माले भ्रष्टाचारका सम्बन्धमा रहेका मुद्दाहरूमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *