काठमाडौं । पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनानबाट निस्कन आग्रह गरेको छ । राजधानी बेरुतस्थित अमेरिकी दूतावासले एक चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई उपलब्ध कुनै पनि टिकटमा लेबनान छोड्न भनेको बीबीसीले लेखेको छ ।
आइतबार राति हिजबुल्लाहले उत्तर इजरायलको हिलेल क्षेत्रमा कैयौं रकेट हानेको इजरायली मिडियाले जनाएका छन् । यो आक्रमणमा मानवीय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । गत मंगलबार इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फौदलाई मारेको दाबी गरेको केही घण्टालगत्तै इरानको राजधानी तेहरानमा हानिया मारिएको खबर आएको थियो । यसपछि इरानले इजरायलमाथि जवाफी कारबाही गर्ने बताएको छ ।
तनावले लडाइँको रूप लिनसक्ने आशंका विभिन्न देशले क्षेत्रस्थित आफ्ना दूतावासमार्फत नागरिकलाई फिर्ता बोलाउन थालेका हुन् । यसअघि बेलायती विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी जारी गरेका थिए । क्षेत्रमा तीव्रताका साथ परिस्थिति बिग्रन सक्ने भन्दै जतिसक्दो चाँडो लेबनानबाट निस्कन बेलायती नागरिकलाई उनले आग्रह गरेका थिए ।
जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न चेतावनी जारी गरेका छन् । सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा आइतबार राति हिजबुल्लाहले प्रहार गरेका मिसाइललाई एयर डिफेन्स सिस्टमले निस्क्रिय पार्दै गरेको देखिएको छ ।




