काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा भारतीय उद्धार टोलीले नदीमा हराएको चुम्बक भेटिएको छ । गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएको थियो । उनीहरूले बस खोज्नका लागि १९ र १४ किलोका २ वटा चुम्बक ल्याएका थिए । जसमध्ये शनिवार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । उक्त चुम्बक आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला भेटिएको हो । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको बताइएको छ । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली आइतवार नै फर्किसकेको छ । उनीहरूले त्रिशूली नदीमा पानीको बहास उच्च रहेकाले बस खोज्न नसकिएको बताएका छन् ।
दुई बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये तीन जनाले झ्यालबाट हामफ ज्यान जोगाएका थिए । अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए । दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला भेटिएको छ । तीमध्ये १९ जना यात्रुको सनाखत भइसकेका छ भने पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन ।




