मुख्य समाचार

‘एनजिओको खाजा’ बारे संघीय संसदको निर्देशन : बिना अनुमति कुनै सहयोग नलिनू

काठमाडौं । संसदका समितिमा अबदेखि गैरसरकारी संस्थाको सहयोग लिन नपाइने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले खाजालगायत अनुमति बिना नै सहयोग गर्ने गरेको पाइएपछि संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले एक विज्ञप्ति जारी गर्दै अबदेखि त्यस्तो नगर्न आग्रह गरेका छन् ।

आज (मंगलबारं विज्ञप्ति जारी गर्दै महासचिव पाण्डेले सचिवहरू, सबै समिति र सङ्घीय संसद्लाई त्यस्तो निर्देशन दिएका हुन् । ‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजिओ-आईएनजीओ)हरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरू सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गैरसरकारी संस्था (एनजिओ) का प्रतिनिधिसहित खाजाको प्रवेशको चौतर्फी आलोचना भइरहेको छ । आइतबार मात्रै होइन यसअघि पनि स्वार्थ समूहले समितिहरूलाई खाजा लगायत अन्य सुविधा उपलब्ध गराउने गरेको थियो । त्यस विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समेत सम्बन्धित पक्षसँग छलफल गरेर त्यसलाई रोक्न माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *