काठमाण्डौं । हुन त स्थानीय जनप्रतिनिधिको काम जनताको सेवा गर्ने हो । तर,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका प्रमुख पासाङ नुर्पु शेर्पाको हर्कत हेर्ने हो भने उनमा सेवाभाव कम दादागिरि बढी देखिन्छ । गत चुनावमा कांग्रेसको टिकट पाएर चुनाव जितेपछि उनीबाट सवैभन्दा प्रताडित पनि तिनै काँग्रेस कार्यकर्ता भएका छन् जसले उनलाइ दिनरात नभनी मत मागेका थिए । केही समय पहिलासम्म आफ्नै कार्यकर्तालाई धम्क्याउँदै आएका शेर्पाको घमन्डको पारा अहिले यति बढेको छ कि उनले सोमवार त आफ्नै कार्यकर्तालाई प्रहरीको चिसो छिडीमा पुर्याइदिएका छन् ।
सिन्धुपाल्चोकमा बनिरहेको इलेक्ट्रो पावर कम्पनी लिमिटेड भन्ने हाइड्रो पावरका सञ्चालक मध्येका एक हुन स्थानीय थुम्पाखरका मोहन कार्की । ४० मेगावाटको यो परियोजना भोटेकोशी गाउँपालिकाको चाकु र हिन्दी भन्ने गाउँको बिचमा रहेको छ । यो परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको परियोजनाले दाबी गरेको छ । यस परियोजनाको सञ्चालक कार्की र गाउँपालिका प्रमुख नुर्पु शेर्पाको सम्वन्ध यति वेला जनप्रतिनिधि र स्थानीय व्यापारीको रूपमा छैन । कार्कीले नुर्पुलाइ जनप्रतिनिधिबाट आफ्नो खल्तीको प्रतिनिधि बनाएका छन् ।
सोमवार लामो समय देखि सिन्धुपाल्चोकमा बनिरहेको हाइड्रो पावरले स्थानीय जनताको लागि सहमति अनुसार, बाटो,पुल,रोजगारी र वृक्षारोपण केही पनि नगरेपछि स्थानीय जनता हाइड्रो पावरको कार्यालयमा आपनो माग लिएर गएका थिए । तर,गाउँपालिकाका प्रमुखलाई नै खल्तीमा बोकेर हिँडेका हाइड्रो पावरका सञ्चालकले स्थानीय जनता र काँग्रेस कार्यकर्ता पटक्कै टेरेनन् । बरु उल्टै माग लिएर गएका स्थानीय माथि बल प्रयोग गराए । यही क्रममा हाइड्रो पावरको कार्यालय सामान्य क्षति पनि भएको छ । यसपछि एक दर्जन जति स्थानीयलाई नजिकको प्रहरी कार्यालयमा समातेर राखेपछि साँझपख छाडिएको छ ।
तर,माग लिएर जाने मध्येका थुर्पा शेर्पालाई भने पक्राउ गरेर यति वेला बाह्रबिसे इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
सहमति अनुसार, हाइड्रो पावर कम्पनीले स्थानीय स्तर सडक निर्माण,स्थानीयलाई रोजगारी, काटिएका रुखको बदलामा वृक्षारोपण आदि काम गर्नुपर्छ तर चालिस प्रतिशत काम सम्पन्न भइसक्दा पनि कम्पनीले स्थानीयको लागि सिन्को समेत भाँचेको छैन ।
बरु,यस्तो जनकल्याणको माग लिएर जाने स्थानीयलाई सबै काम गाउँपालिका प्रमुखलाई सोधेर गरेको भन्दै हाइड्रो पावर कम्पनीले आफ्ना माग लिएर गाउँपालिकामा नै जान चुनौती दिएको पीडितहरूले बत्ताएका छन् । तर,गाउँपालिका प्रमुख र हाइड्रो पावर सञ्चालकको मिलेमतो बारे थाह पाएका स्थानीयले आफ्नै कार्यकर्तालाई यो तहको ज्यादती हुँदा समेत बेवास्ता गरी बस्ने प्रमुखलाई अब सवक सिकाउने भन्दै नुर्पु शेर्पाको विरुद्धमा एकत्रित हुन थालेका छन् ।




