मुख्य समाचार

२ साता बित्दा पनि बालमन्दिरको जग्गा हिनामिनाका आरोपी पक्राउ परेनन्

काठमाडौं । काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले दुई साताअघि २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर पनि पक्राउ गर्न सकेको छैन । राजनीतिक कनेक्सन भएका व्यक्तिसमेत परेकाले पक्राउ गर्नबाट प्रहरी पछि हटेको हो ।

बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर नोक्सानी पुर्‍याएको भन्दै परेको जाहेरीका आधारमा सीआईबीले सञ्चालक समितिका २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । पक्राउ पुर्जी लिएका मध्ये २ जनाको मृत्यु भइसकेको छ भने १ जना अमेरिकामा रहेको सीआईबीले जनाएको छ ।

बाँकी १७ जनालाई पक्राउ गर्न सकेको छैन । बालमन्दिरको जग्गा न्यूनतम भाडामा दिएको र सोही जग्गा निजी व्यवसायमा प्रयोग गरेर ठगी भएको भन्दै परेको जोहरीमा आरोपीहरु पक्राउ नगरेपछि प्रहरीलाई तत्काल मुद्दा लैजानुपर्ने बाध्यता रहँदैन । पक्राउ पुर्जी लिएको हल्ला गरेपछि आरोपीहरुले भाग्ने मौकासमेत पाएका छन् । राजनीतिक दबाबकै कारण सीआईबीले आरोपीहरुलाई पक्राउ नगरेको हो ।

२०४९ सालमा वृहस्पति विद्यासदनले ३० वर्षका लागि भाडामा लिएको बालमन्दिरको जग्गामा निजी स्कुल सञ्चालन गरेको र भाडासमेत अत्यन्त न्यून देखिएको भन्दै उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । २०७९ सालमा भाडा सम्झौता सकिने भए पनि सञ्चालक समितिले २०७२ सालमै पुरक सम्झौता गरेर २१२७ सालसम्मका लागि समय थप दिएको थियो ।

वृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन भइरहेको यो जग्गा पहिलो भाडा सम्झौता सकिनु ७ वर्षअघिनै पुरक सम्झौता गरेर ठगी गरेको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *