देश

भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहरी विकासमन्त्रीको जोड

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताएकी छिन् । आज (शनिबार) डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भए पनि प्रभावकारी ढंगले लागू हुन नसकेको बताए । उनले आफूले कारण खोज्दा पालिकाहरुमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताए ।

उनले सकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रुपमा बेस बसाउन जरुरी रहेको बताइन् । मन्त्री गुरुङले सरकारले बनाएका अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को भनेर अघि बढाइएका कामहरु प्रभावकारी बन्न नसक्ने दाबी गरिन् । उनले अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण गरेको छ । लागू गर्नका निमित्त भनेर ७५३ वटै पालिकाहरुमा पठाइएको छ । त्यो सबै मापदण्डहरु । तर कतै पनि प्रभावकारी ढंगले लागू हुन सकेको छैन । किन भएन भनेर मैले सबै पालिकाहरुमा बुझ्दा उहाँहरुले तल हामीसँग प्राविधिक नै हुँदैन कसले हेरिदिन्छ र लागू हुन्छ भन्नेकुरा गर्नुभयो । त्यो हिसावले पनि हामीले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रुपमा बेस कसरी बसाउने भन्ने निस्कर्षमा पुग्नुपर्नेछ । हामीले बनाएका आयोजनाहरुको अनुगमन र मूल्यांकन सिंगो सिधा आँखाले नदेखिने प्राविधिक कुरा छन्, ति प्राविधिक कुराहरु प्राविधिकहरुले नै देख्ने हुँदा अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउन नसक्ने र अभिलेखीकरण नहुने हो भने विकासलाई हामीले जति द्रुत गतिमा फड्को मार्न सक्छौँ भनेर काम अघि बढाउँछौँ, त्यो प्रभावकारी नहुँदो रहेछ ।’

उनले भनिन्, ‘त्यसैले अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्नुपर्छ । हामीले जलवायु परिवर्तनले पारेको असरको कुरा गर्ने हो भने हामी मानवले नै निर्मित विकास निर्माणका पूर्वाधार तयार गरिरहेका छौँ । त्यसमा प्राविधिक भन्दा पनि व्यक्तिगत मनोचाहनाका आधारमा सडक पूर्वाधारका खाका तयार गर्ने, कस्तो ठाउँमा भवन बनाउन मिल्छ की मिल्दैन भन्दा पनि प्राविधिक रुपमा अध्यनन नगरी यही ठाउँमा बन्नुपर्छ भन्ने, बस्ती बसाउन नहुने ठाउँमा पूर्खादेखि बसेको ठाउँ यहाँ बस्नै पाउनुपर्छ भन्ने कुराले हामीले बनाएका संरचनाले हामीलाई नै समस्या निम्तिरहेको छ ।’ मन्त्री गुरुङले सडक पूर्वाधारका खाका प्राविधिक आधारमा नभइ मनोचाहनाका आधारमा बनाउँदा विपत्ति निम्तिने गरेको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *