विश्व

ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव लड्न योग्य छन् वा छैनन् भन्ने निर्णय अब सर्वोच्चले गर्ने

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा सामेल हुने वा नहुने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ । यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यसको फैसला सम्पूर्ण देशमा लागू हुनेछ ।

कोलोराडो राज्यको फैसलाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशले सुनुवाइ गर्न सहमति भएका छन् । कोलोराडोले आफ्नो निर्णयमा ट्रम्पलाई प्राथमिक चुनाव लड्नबाट रोक्न २०२४ को मतपत्रबाट हटाएको थियो । डोनाल्ड ट्रम्पले पनि माइन राज्यले लिएको यस्तै निर्णयलाई चुनौती दिएका छन् ।

ठ्याक्कै तीन वर्षअघि आजको दिन ६ जनवरी २०२१ मा राष्ट्रपति चुनावमा जो बाइडेनको हातबाट पराजित भएपछि ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा हुलदंगा मच्चाएका थिए । यस विद्रोहमा ट्रम्प संलग्न भएको आरोप लगाउँदै र ट्रम्पलाई राष्ट्रपति चुनावबाट अयोग्य ठहराउनुपर्ने माग गर्दै धेरै राज्यमा मुद्दा दायर गरिएको थियो ।

अमेरिकी संविधानको १४ औं संशोधनले ‘विद्रोह वा विद्रोहमा संलग्न’ कुनै पनि व्यक्तिलाई संघीय पद धारण गर्न निषेध गर्दछ । यद्यपि ट्रम्पका वकिलहरूले यो संशोधन राष्ट्रपतिमा लागू नहुने तर्क गरेका छन् । ट्रम्पका वकिलहरूले कोलोराडोको सर्वोच्च अदालतको निर्णयले कोलोराडोका लाखौं मतदाताहरूलाई असंवैधानिक रूपमा वञ्चित गर्ने बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *