देश

स्वास्थ्य मन्त्रालयको बजेट कटौतीले धेरै काम गर्न सकिएन : मन्त्री बस्नेत

काठमाडौं।स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको गुनासो गरेका छन् ।

शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलब्ध स्रोत साधनका बाबजुद पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए।

उनले स्थानीय तहहरूले १० प्रतिशत मात्र बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएमा जनतालाई स्वास्थ्य सेवा दिन सहज हुने उनले बताए । उनले तीन तहको सरकारले स्वास्थ्य संस्था चलाउने प्रावधानका कारण स्वास्थ्य क्षेत्रमा अन्योल देखिएको तर्क गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरूले प्रत्येक पालिकामा बनाउने भनिएको अस्पताल बजेट अभावमा अझै निर्माण हुन नसकेको र पर्याप्त जनशक्ति समेत नभएको गुनासो गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि प्रदेश सरकारले बजेटमै कोशी प्रदेशका १० वर्ष मुनिका बिरामी बालबालिका निःशुल्क आइसियु समेतको सेवा प्रवाह गर्ने तथा विराटनगरमा शैलजा आचार्य मुटुरोग हृदय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागेको बताए ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी गराए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको विकासका लागि १० प्रतिशत बजेट छुट्टाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सङ्घीय तथा कोशी प्रदेशको स्वास्थ्य सूचकाङ्कको अवस्था, भावी रणनीति तथा आगामी दिनमा गरिने कार्यबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ पालिकाका प्रमुख उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालयका प्रमुख तथा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *