काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । नेकपा एमालेबाट नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन छलफलमा जुटेका हुन् । यस अघि आइतबार पनि शिर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक बनाएर अगाडी बढ्ने विषयमा छलफल भएको थियो । सोहि छलफलको निरन्तरताको लागि आजको बैठक बसेको बताइएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनाउन थालिएको विधेयक संसदमा भए पनि प्रमुख दलहरूबीच सहमति हुन नसक्दा विधेयक अगाडी बढेको छैन ।





