काठमाडौं ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्। उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गरेको सन्देशमा नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गरेका छन्।
यादवले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवले भनेका छन्, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ। यो अत्यन्तै सकारात्मक पक्ष हो।” खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवको छ।




