मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर २६ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा कार्यकक्ष सार्ने विषयलाई लिएर मेयर र उपमेयरका समर्थकबीच कुटाकुटदेखी एनसेलविरुद्ध अमरेशकुमारको रिट हेर्न नभ्याइने सुचीमा सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार
कार्यकक्ष सार्ने विषयलाई लिएर मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

काठमाडौँ।पर्साको वीरगन्ज महानगरपालिकाको कार्यालयमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको छ। कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो। मेयर राजेशमान सिंहको कार्यकक्ष केही दिन अगाडि महानगर परिसरको दक्षिणपट्टिको भवनमा सरेको थियो। मेयर अर्को भवनमा सरेपछि खाली भएको कोठालाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेलको कार्यकक्ष बनाइयो।

त्यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष उपमेयर इम्तियाज आलमको कार्यकक्षसँगै थियो। प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन्। ती कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए। उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरू व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए।

उपमेयर आलमले भने उक्त कोठाले आफूले प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन्। आफूले प्रयोग गर्ने भनेको कोठा अर्कै प्रयोजनका लागि प्रयोग हुन थालेको भन्दै उपमेयर आलमले आफ्ना समर्थक नै बोलाएर अवरोध गरेका थिए। उपमेयरले आफ्ना समर्थक बोलाएपछि मेयरका समर्थक समेत महानगरपालिका कार्यालयमा पुगेका थिए। दुवै पक्षका समर्थकबीच कार्यालयमै कुटाकुट भएको हो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन्।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन्। थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् ।

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का निवर्तमान अध्यक्ष हुन्। कांग्रेसको सक्रिय राजनीतिमा जाने योजनासहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएको बताइन्छ । उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान लविङ गर्दै आएका छन्। उनी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएका थिए। थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए । थानीको नेतृत्वमा आयल निगम नाफामा गई सरकार र इन्डियन आयल कर्पोरेसनको ऋणसमेत चुक्ता गरेको थियो । थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए।

 मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार भएको कार रोक्ने प्रयास गरेका थिए ।

अगाडि र पछाडि प्रहरीको भ्यानसहित बीचमा आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर एउटा हुलले मुख्यमन्त्रीको सवारीमा मुक्का तथा पञ्जाले हानेको थियो । पहिचानवादी बताउने समूह बिहानैदेखि कालोझण्डा लिएर दमक चोकमा बसेको थियो । मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीका अनुसार मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य सुरु भएको छ । प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीको भनाइ छ ।

एमालेको मध्यपहाडी संकल्प यात्रामा तनाव, स्वागतद्वार जलाइयो

एमालेको मध्यपहाडी संकल्प यात्रामा तनावमय बन्दै गएको छ । एमालेले पाहुनालाई स्वागतका लागि ओखलढुंगामा तयार पारिएको स्वागतद्वार पहिचानवादीले जलाइदिएका छन् । संकल्प यात्रामा अवरोध नपु¥याउन एमालेले आग्रह गरेए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ । मंगलबार बिहानैदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानवादी पक्षधरले बन्दको आह्वान गरेका छन् । एमालेको संकल्प यात्रा रामेछाप हुँदै आज कोशी प्रदेश प्रवेश गर्दैछ ।

संकल्प यात्रालाई रोक्न खोज्ने पहिचानवादी पक्षधरका कमान्डर गोपाल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा चार र नुनथलामा एकजनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । हलेसीमा पूर्वसंस्कृतिमन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् ।

कांग्रेसको महासमिति बैठक फागुनमा सर्ने

महासमिति बैठकबारे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आगामी शुक्रबार बस्ने बैठकमा तीनवटा एजेन्डा तय भएको छ । बैठकमा महासमिति बैठक, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा समावेश छन् । बैठकमा सभापति देउवाले पुस १६–१९ सम्मका लागि तय भएको महासमिति बैठकको मिति सार्ने प्रस्ताव लाने तयारी गरेका छन् । मध्यपुसमा ठण्डी बढ्ने र माघमा राष्ट्रियसभाको निर्वाचनमा ध्यानकेन्द्रित गर्नुपर्ने भएकाले फागुनमा महासमिति बैठकको मिति प्रस्ताव गर्नसक्ने नेताहरूको भनाइ छ ।

पुसमा महासमिति बैठक राखे राष्ट्रिय सभा निर्वाचनमा प्रभाव पर्ने देउवाको आकलन छ । कांग्रेसमा केही समययता चुनावमा गठबन्धन गर्न नहुने आवाज उठ्दै गएको छ । महासमिति बैठकमा पनि यो कुरा उठ्ने संकेत देखिएपछि फागुनमा बैठक राख्ने गृहकार्यमा सभापति देउवा रहेको बताइन्छ । यसपटक कांग्रेसले गठबन्धन गरेरै राष्ट्रिय सभा निर्वाचनमा नौ सिट जित्ने अवस्था छ । राष्ट्रपतिबाट मनोनीत एक सांसद पनि कांग्रेसबाटै पार्ने रणनीतिमा सभापति देउवाको रणनीति छ ।

कांग्रेसले राष्ट्रपतिबाट मनोनीत एक सांसदमा कलाकार नीर शाहलाई बनाउने तयारी गरेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आफ्नो भाइ नारायण दाहाललाई सांसद बनाउन खोजिरहेका छन् । सोही कारण माओवादीले सात सांसदमा बार्गेनिङ गर्दै आएको छ । यसपटक कांग्रेसले गठबन्धन नगरेमा कम्युनिस्टबीच फेरि पनि तालमेल नहोला भन्न सकिन्न । तर कांग्रेसमा शेखर कोइराला समूह गठबन्धन गर्ने पक्षमा छैन । महासमिति बैठकमा यसबारे विवाद छताछुल्ल हुने र त्यसमा एमालेले खेल्ने मौका पाउने भन्दै देउवाले फागुनमा महासमिति बैठक राख्ने रणनीति अख्तियार गरेको स्रोतले बतायो ।

 ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो ।गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।

गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात किर्ते गरेको आरोप छ । गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

ललितपुरको झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना नियन्त्रणमा

ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध नियन्त्रण गर्ने क्रममा गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार लागूऔषध तस्करी गर्ने उदयपुर स्थायी ठेगाना भएका अनिवाश राईमाथि नियन्त्रणमा लिन अनुसन्धानमा खटिएको प्रहरीको टोलीले गोली चलाएको थियो । गोली लागी घाइते भएका राईलाई अहिले उपचारका लागि ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । उनको साथबाट पेस्तोल र लागूऔषधसमेत बरामद गरिएको छ ।

मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ

मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् उपनिर्देशक प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थायी घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने भनी पटक–पटक गरी सो रकम लिएका स्थायी घर भोजपुर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई पक्राउ गरिएको छ ।थुनामा खड्कालाई आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

चार औषधिको उत्पादन तत्काल रोक्न निर्देशन

औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो । औषधि मूल्यांकन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले जनाएको छ । ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले बताए । रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।

एनसेलविरुद्ध अमरेशकुमारको रिट हेर्न नभ्याइने सुचीमा

एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउनेमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको रिट फेरि पनि हेर्न नभ्याउनेमा परेको हो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

सिंहले मंसिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *