मुख्य समाचार

आइलाग्नेमाथि जाइलाग्न युवा संघलाई ओलीको निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइलाग्नेमाथि जाइलाग्न युवा संघलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफू अनुशासनमा रहन, तर आइलाग्नेमाथि जाइलाग्न निर्देशन दिएका हुन् ।

जे पनि सहने भन्ने कुरा सह्य नहुने ओलीको भनाइ छ । निष्ठाको राजनीति गर्न र पार्टीप्रति विश्वास गर्न पनि उहाँले युवा संघलाई निर्देशन दिए । एमाले खानका लागि नभएर काम गर्नका लागि बनेको पार्टी भएको उनले दाबी गरे । देशको हितमाथि प्रश्न उठ्दा युवा संघ मैदान उत्रिएर खबरदारी गरेको भन्दै उनले प्रशंसा गरे ।

युवा संघ र युथ फोर्सले आफूलाई जतिबेला पनि तयार अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । युवा संघ एमालेको काँइलो छोरो र छोरी भएको भन्दै उनले युवा संघले झलक मात्रै देखाएको दाबी गरे । ‘युवा संघले एक झलक मात्र देखाएको छ, सिंगै एमाले उठ्यो भने के हुन्छ ? सिंगै युवा संघ उत्रियो भने के हुन्छ ?,’ उनले प्रश्न गरे ।

दुर्गा प्रसाईंको आन्दोलनबाट सरकार थर्कमान भएको पनि ओलीले बताए । ‘हिजो बल्खुमा कहाँ हिँडेका हुन् थाहा छैन, के माग हो, के नारा हो केही थाहा छैन, ३–४ हजार मानिस के जम्मा भएका थिए, यो सरकार त्यत्तिकैमा थर्कमान छ, किन भने यसको जगै छैन, एउटा किलो गाडेको छ भने हल्लिँदैन, तेर्सो पारेको छ भने अलिअलि हावा चल्दा पनि ढलमलाउँछ, गठबन्धन छ जरा छैन,’ उनले भने ।

दुर्गा प्रसाईंलाई देशलाई माया नगर्ने बिकाउ माल र धतंगाको संज्ञा दिँदै ओलीले साइकलको मूल्यसँग सार्वभौमसत्ताका कुरा गर्नेहरु देशप्रेमी हुनै नसक्ने बताए । ‘एउटा धतंगाले नेपाललाई उता गाभ्यो भने साइकल सस्तो पाइन्छ, साग सस्तो पाइन्छ भनेछ, देशको माया नगर्ने बिकाउ मालहरुले यस्तो भन्छन्, साइकलको मूल्यसँग सार्वभौमसत्ता साट्ने कुरा गर्छन्,’ उनले भने ।

राजतन्त्र ब्युँताउने सपना नदेख्न पनि ओलीले चेतावनी दिए । कोहीकोही तत्व १५ वर्षअघि फालिसकेको राजतन्त्र फर्काउँछौं भन्दैछन्, मलाई लाग्छ, चेत नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन्, जन्मिँदै राजा हुने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुन्छ भन्नु मूर्खता हो, राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालिदिएका हुन्,’ उनले भने ।

ओलीले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएको आरोप लगाए । सरकारको ध्यान देश, जनता र विकासमा केन्द्रित हुनुपर्नेमा अन्यत्र केन्द्रित रहेकाले जनतामा निराशा छाएको उनको भनाइ थियो । सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरीत र राष्ट्रहित विपरीत रहेकाले जनतामा चरम निराशा छाएको ओलीले बताए ।

माओवादी हिंसाका कारण युवाहरु विदेश जानुपरेको पनि ओलीले बताए । शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्नेमा सरकारले हिंसाको महिमागान गाएर बसेको आरोप लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिंसा दिवसमा बिदा दिने निर्णय गरेर हिंसालाई पश्रय दिन खोजेको पनि बताए ।

गठबन्धन सरकारका कारण युवा विदेश पलायन बढेको, देशको अर्थतन्त्र ओरालो लागेको, जनतामा निराशा छाएको, व्यापार व्यवसाय ठप्प रहेको र देश निक्कै गम्भीर अवस्थामा रहेको उनले बताए । ‘विश्वविद्यालयमा सत्ता पक्षले नै तालाबन्दी लगाउँछ, गठबन्धनका भलाद्‍मीहरु (गुण्डाहरु) ले प्रोफेसरको ढाड भाँचिदिन्छन्, यो त हाम्रो मान्छे हो थुन्न पर्दैन भनिन्छ, अदालतले भए पनि दुई वर्ष थुन्ने आदेश दियो, म यसको स्वागत गर्छु, सत्ता स्वार्थका लागि कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई माफी दिने कुरालाई अदालतले रोकेको छ, यसमा खुशी छु, नेपाली जनता खुशी छन्,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *