विश्व

गाजाको एक विद्यालयमा इजारायली आक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति कार्यान्वयन हुनुअघि इजरायलले गाजास्थित संयुक्त राष्ट्र संघीय विद्यालयमा आक्रमण गरेको छ।

उत्तरी गाजाको जाबिलिया शरणार्थी शिविरको छेउमा रहेको विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा शरण लिइरहेका मानिसहरुको मृत्यु भएको हो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको यो दाबीको स्वतन्त्र पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।

यसअघि पनि इजरायलले विभिन्न विद्यालय तथा शरणार्थी शिविरमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएका थिए। ७ अक्टोबर यता इजरायलले जारी राखेको गाजा कारबाहीमा १३ हजार बढीको मृत्यु भइसकेको छ।

यसैबीच इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामको सहमति आजदेखि लागू हुने बताइएको छ। हिजो नै युद्धविराम हुने भनिए पनि हुन सकेको थिएन।

कतारको मध्यस्थतामा भइरहेको अस्थायी युद्धविराममा आज हमासले इजरायलका १३ बन्धकलाई रिहा गर्ने भएको छ। उनीहरुमध्ये सबैजसो महिला र बालबालिका हुन्। यसको बदलामा इजरायलले हिरासतमा रहेका प्यालेस्टाइनीहरुलाई रिहा गर्नेछ।

यो क्रम ४ दिनसम्म जारी रहने बताइएको छ। ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेको हमासले झण्डै ३ सय मानिसलाई बन्धक बनाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *