काठमाडौं । इजरायल–हमास द्वन्दका क्रममा वेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । प्यालेस्टिनी लडाकु समूह हमासले गत अक्टोबर ७ तारिखका दिन इजरायलमा आक्रमण गर्ने क्रममा विपिन वेपत्ता भएका थिए । त्यसपछि इजरायलले विपिन हमासको नियन्त्रणमा रहेको बताएको थियो ।
डेढ महिनादेखि उनको अवस्था पत्ता लाग्न नसकिरहेका बेला इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एउटा भिडिओ सार्वजनिक गर्दै उनी हमासको कब्जामा रहेको जानकारी दिएको छ । आईडीएफले एक नेपाली र अर्का थाई नागरिकलाई हमासले नियन्त्रणमा लिई घाइते अवस्थामा अस्पताल पुर्याएको बताएको हो ।
आईडीएफले भनेको छ, ‘यो नरसंहारका दिन ७ अक्टोबर २०२३ को बिहान १०ः४२ बजेदेखि ११ः०१ बजको बीचमा शिफा अस्पतालको दस्तावेज हो, जसमा बन्धकहरू, एक नेपाली र एक थाई नागरिकलाई इजरायली क्षेत्रबाट अपहरण गरेर लगिएको थियो । हमासका सशस्त्र ‘आतंकवादी’ले घेरा हालेका थिए । एकजना बन्धक घाइते छन् र उनलाई अस्पतालको बेडतर्फ लगिँदै छ र अर्का हिँडिरहेका छन् ।’
आईडीएफले भनेजस्तै भिडियोमा एक जना घाइतेलाई स्टेचरमा राखेर अस्पतालको बेडमा लगिँदै छ भने अर्का घाइतेलाई दुई जनाले समातेर लगिरहेको देख्न सकिन्छ । तर हाल उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुराको जानकारी भने दिइएको छैन । तेल अविभस्थित नेपाली दूतावासले पनि विपिन हमासको नियन्त्रणमा रहेको जानकारी आएपनि अवस्था अझै अज्ञात रहेको बताएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए । हमास समूहको आक्रमणबाट १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो ।
https://twitter.com/i/flow/login?redirect_after_login=%2Fi%2Fflow%2Flogin




